भारतमा बस दुर्घटना ३३ नेपालीको मृत्यु, केहीको सनाखत
By admin | July 31, 2008
भारतको उत्तराखण्डको हिमाली खण्डमा बिहीबार भएको नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा ३३ जना नेपालीको मृत्यु भएको छ। सो दुर्घटना उत्तराखण्डको राजधानी देहरादुनबाट ३ सय किलोमिटर उत्तर चमौली जिल्लामा भएको थियो । घटनामा पाँच गम्भीर घाइते भएका छन् ।
यसअघि मृतकको संख्या ३६ बताइए पनि घटनास्थलबाट प्राप्त जानकारीअनुसार हालसम्म ३३ जनाको मृत्यु भएको बताइएको छ। ३८ जना यात्रु सवार अरनिको यातायातको ना२ख २३९१ नम्बरको सो बस पहाडै पहाड भएको खोंचबाट नियन्त्रण गुमाई अलखानन्द नदीमा खसेको सँगै रहेको बसमा चालक जनकराज पौडेलले बताएका छन् ।
बस पूर्ण रुपमा नदीमा डुबेको र भारतीय प्रहरीका गोताखोरहरुले उद्धार गरेका थिए । दुर्घटनाबाट बाँच्न सफल अन्य पाँच जनाको जिल्ला अस्पताल चमौलीमा उपचार भइरहेको छ।
सो दुर्घटनामा परी श्रीधर सुवेदी र उनकी श्रीमति, भरतप्रसाद सुवेदी र उनकी श्रीमति, मुक्ति मानन्धर र उनकी श्रीमति, माधवनारायण मानन्धर र उनकी श्रीमति, रामकृष्ण कार्की र उनकी श्रीमति, बाबुकाजी कार्की र उनकी श्रीमति, गोपाल केसी र उनको म्यानेजरको सनाखत भएको छ।
सो बसमा काभ्रेको पनौति, ललितपुर, झम्सीखेल, मकवानपुर हेटौडालगायतका स्थानका यात्रु रहेका थिए । तीर्थयात्राका क्रममा गत असार २७ गते दुई वटा बसमा ७० जना तीर्थयात्रु त्यसतर्फ गएका थिए ।
बद्रीनाथको दर्शन गरेर फर्कने क्रममा सो दुर्घटना भएको थियो । दुई वटा बस सँगै हिडिरहेको बेला अचानक अगाडिको बस नदीमा खसेको बताइएको छ।
पहिलो बस दुर्घटनामा परेपछि पछाडि रहेका बसका यात्रुहरु त्यही धर्मशालामा अलपत्र अवस्थामा रहेको बताइएको छ।
tags: india road accidentTopics: Nepali News |

