चार प्रमुख दलका शिर्ष नेताहरुले राष्ट्रपतिले दिएको म्यादभित्र सहमतिको सरकार गठन गरिने विश्वास व्यक्त गरे पनि सम्भावना निकै कम देखिदै गएको छ। सहमतिको सरकार बनाउन बिहीबार साँझ बसेको प्रमुख चार दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष स्थगित भएको छ।
नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका शिर्ष नेताहरुको बैठक कुनै सहमतिमा पुग्न नसकेपछि शुक्रबार बिहान पुनः बस्ने गरी स्थगित भएको छ।
राजधानीको ठमेलस्थित होटल बैशालीमा बसेको डेढ घण्टा लामो चार दलको बैठकबाट निष्कर्ष निस्कन नसकेपछि नयाँ सरकार शुक्रबार नै गठन हुनेमा आशंका बढेको हो । दलहरु सहमतिको सरकारको तयारीमा भन्दा बहुमतको सरकार निर्माणका लागि सक्रिय रहेकाले पनि शुक्रबार सरकार बन्नेमा शंका बढेको छ।
यद्यपि बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार गठन हुने बताउनुभयो । उहाँले भन्नुभयो, साझा कार्यक्रम, आचारसंहिता र पोर्टफोलियो बनाउने क्रममा छलफल भइरहेकाले शुक्रबारसम्म जसरी पनि सहमतिमा पुग्छौ । उहाँले भन्नुभयो, चार दल मिल्नेतिरै अगाडि बढेको छ तर शुक्रबार मिलिहाल्छ भन्ने ग्यारेन्टी म दिन सक्दिनँ ।
त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले साझा नीति तथा कार्यक्रम, सरकारको बनोट र सहमतिका आधारहरु कुरालाई एउटै प्याकेजमा सहमति कायम गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा नेकपा एमाले र मधेशी जनअधिकार फोरमले माओवादी नेतृत्वको सरकार स्पष्ट रुपमा स्वीकार गरे पनि कांग्रेसले भने स्पष्ट रुपमा स्वीकार नगरेको बताइएको छ। कांग्रेसले सबै कुराको प्याकेजमै सहमति कायम गरिनुपर्ने धारणा राखेको छ। चार दलको बैठक शुक्रबार बिहान पुनः बस्नेछ।
0 Comment (s)