३२ साउन, काठमाण्डौ । आफ्ना साझा उम्मेदवार प्रधानमन्त्रीमा चयन भएपछि गठवन्धनकारी तीन दल मन्त्रीमण्डलको स्वरुप र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न जुटेका छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रम र सरकार संचालनको आधारपत्र तयार पार्न तीन दलीय कार्यदलको वैठक सिंहदरवारमा वस्दैछ । कार्यदलमा एमालेका सदस्य भीम रावलका अनुसार आजको वैठकले सरकार संचालनको आचारसंहिता, प्रतिबद्धतापत्र र न्यूनतम साझा कार्यक्रमको अन्तिम टुंगो लाग्नेछ । यसवारे हिजोनै मोटामोटी सहमति भएको र आज अन्तिम सहमतिपछि शीर्ष नेताहरुसमक्ष पेश गरिने रावलले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रालय वाँडफाँडका विषयमा सहमति गर्न तीन दलका शीर्ष नेताहरुको वैठक समेत आजै वस्दैछ । प्रधानमन्त्रीले सोमवार सपथ ग्रहण गर्नुअघिनै मन्त्रिमण्डको आकार, स्वरुप र वाँडफाँडवारे सहमति वनाइसक्ने दलहरुको योजना रहेको छ ।
यसअघि हिजो भएको छलफलमा नेकपा माओवादीले अर्थ र रक्षा, एमालेले गृह तथा मधेसी जनाधिकार फोरमले शिक्षा मन्त्रालय गरी पाँचवटा मन्त्रालयमा मात्र अन्तिम टुंगो लागेको छ । संचार र परराष्ट्र मन्त्रालयमाथि एमाले र फोरमको परस्पर दावी रहेका कारण हिजो सहमति वन्न नसकेको नेताहरुले बताएका छन् ।