पवनकलीका लागि मन मिल्यो भने विवाह अघिको सेक्स उत्तम
By admin | August 20, 2008
विवाहको मौसममा राम्रा केटाहरु राम्रै केटीको खोजीमा हुन्छन्। तर, कान्तिपुर टेलिभिजनमार्फत पवनकली बनेर सबैको मनमा बस्न सफल माम्पी घोषले त धेरै सपनाका राजाहरु खोजिन्। तर, उनलाई चाहिं कसैले सपनाका रानी हौ भनेका छैनन्।
यी माम्पी सपनामा पनि राजेश हमाललाई देख्छिन् रे। भन्छिन्– पवनकलीको प्रेम एउटैमा त छ नि, राजेश हमाल। तर, कति दिनसम्म लागिरहने एउटै कुरामा? न राजेशले पवनकलीलाई फोन गर्छन् न त राजेशलाई पवनकलीले फोन गर्छिन्।
जति निष्ठुरी भए पनि उनको मनमा कता कता राजेश हमाल छन् र उनीसितै विवाह गर्ने इच्छा पनि छ। तर, राजेशले गरेनन् भने विवाह नै नगर्ने सोचाइचाहिं छैन। सुनाउँछिन्– म राजेश हमालको फिल्म हेरेर हुर्केकी थिएँ। घरको भित्ताभरि पनि उनकै पोस्टर थियो। गाउँको चिया पसलमा पनि उनै थिए।
कलिउडका राजेश हमाल भएनन् भने पवनकलीलाई बलिउडका सलमान खान छँदैछन्। भन्छिन्– सलमानसित भेट त भएको छैन। तर पवनकलीले चाहँदा उनले कसो नभेट्लान्? सलमानले पनि धोका दिए के गर्ने त? त्यसको पनि विकल्प छन्– हलिउडका हिरो लियोनार्दो डिकाप्रियो अर्थात् टाइटानिकका हिरो।
त्यसो त कसैले प्रेम प्रस्ताव गरेका छैनन् पवनकलीलाई। आज शुक्रवार अर्थात् साउन ३१ गते उनको २५ औं जन्मदिन हो। उनी रातो गुलाबको फूल र कार्ड लिएर आउने मनका राजाको प्रतीक्षामा छिन्। फूल असाध्यै मनपर्छ रे उनलाई।
पवनकली सो’मा माम्पी सबैसित प्रेम र सेक्सका बारेमा जान्ने इच्छा राख्छिन्। तर, उनका पाहुना कतिले भन्छन्, कतिले भन्दैनन्। भन्छिन्– गाउँमा हँुदा प्रेमलाई अर्कै बुझेकी थिएँ, सहरमा आएपछि अर्कै बुझें। घरदेखि अफिससम्म राम्रो मान्छेले बाइकमा छाडिदिन्छ भने कहिलेकाहीं प्रेमजस्तो हँुदो रहेछ सहरमा। अनि कसैले रेस्टुराँ र सपिङ गरायो भने त्यो पनि प्रेम कहलाउँदो रहेछ सहरमा।
पवनकलीले वास्तवमा बुझेको चाहिं प्रेम जोसित जतिबेला पनि हुन सक्छ। अफिसमा सँगै काम गर्ने साथीभाइसित होस् या परिवारका कुनै सदस्यसित होस्। बाटोमा हिंडिरहेको मान्छे सित पनि हुन सक्छ नचिनेको मान्छेसित पनि। सेक्सलाई कतिपयले दालभात खाएजस्तो भन्छन् त कसैले जैविक आवश्यकता। तर, पवनकली भन्छिन्– हामी सबैलाई सेक्सका बारेमा थाहा छ तर थाहा पाएर पनि लुकाउनुपर्दो रहेछ। लुगा लगाएको भए पनि हाम्रो शारीरिक बनावट सबैलाई थाहा छ तर थाहा छ भन्दैमा नांगै र छाडा भएर हिंड्न मिल्दैन।
सेक्सका निम्ति चाहिने/नचाहिने बाटो अपनाउनुपर्छ भन्ने लाग्दैन पवनकलीलाई। अहिलेसम्म कुनै केटाले सेक्सको प्रस्ताव नगरेको उनी बताउँछिन् र त्यस्तो आँट कसैले नगरोस् भन्ने पनि चाहन्छिन्। भन्छिन्– प्रेम वा विवाहको प्रस्त्ााव त स्वाभाविकै हो। तर, सेक्सको प्रस्तावजस्तो नराम्रो त केही हँुदैन। त्यसलाई म कि मानसिक अस्पतालतिर लान्छु कि प्रहरी खोरमा।
पवनकली खुलस्त कुरा गर्न रुचाउँछिन्। उनका दृष्टिमा विवाहअघिको सेक्स आवश्यक वा अनावश्यकभन्दा पनि दुई जनाबीचको समझदारीमा हुने उनको धारणा छ। प्रेमीले नै सेक्स प्रस्ताव राख्यो भने? प्रस्ट वक्ता पवनकली बताउँछिन्– हामी दुईबीचको कुरा म तपाईंलाई सेयर गर्न सक्दिनँ। दुईजनाले जे ठीक ठान्छन्, त्यही गर्छन्। त्यो नितान्त व्यक्तिगत कुरा हुन्छ। सबैले उनलाई पवनकली भन्छन्। पवनकलीका फ्यानहरुले माम्पीलाई बिर्सिसकेका छन्। भन्छिन्– पवनकली भनेपछि दर्शकमाझ मेरो अनुहार नै आउँछ। यसमा म निकै खुसी छु। मेरो नागरिकता र शैक्षिक प्रमाणपत्रमा माम्पी नै छ। पहिलो पवनकली थिइन् निभा तुलाधर। उनी कलाकार नै हुन्। पवनकली गर्दागर्दै उनले भारतमा एक्टिङ क्लास लिने मौका पाइन्। त्यसपछि कार्यक्रमको निर्माता थिइन् तारा कँडेल। उनले पवनकलीको नयाँ अवतार लिइन्। विवाहपछि उनी श्रीमान्सितै विदेश गइन्।
के पवनकली अरु पवनकलीजस्तै विदेश भासिएर आरामको जीवन बिताउलिन् त? भन्छिन्– पवनकली सो’मा सबैभन्दा धेरै काम गरेको मान्छे म नै हँु। सधैंभरि काम गर्ने इच्छा त छ तर दर्शक नै वाक्क भएपछि के गर्ने? मान्छेको जीवनमा पहिलो प्राथमिकता आफू कसरी खुसी र सफल हुने भन्ने नै रहन्छ। तपाईं जतिबेलासम्म आफूलाई खुसी राख्न सक्दैन, त्यतिबेलासम्म उसले वरिपरिका मान्छेलाई पनि खुसी राख्न सक्दैन।
पवनकली तत्काल दर्शकको मायालाई टाटा बाईबाई गर्ने पक्षमा छैनन्। बरु पवनकली इन इङल्यान्ड, पवनकली इन अमेरिकाजस्त्ाा कार्यक्रम ल्याउनचाहिं मन छ रे। उनले कान्तिपुरमा पवनकली सो गरेको दुई वर्ष बित्यो। अब उनी सहरिया केटीका हुलियामा आउँदैछिन्। भन्छिन्– दुई वर्षपछि त गाउँले केटी पनि सहरिया बनिसक्छन् नि। पवनकली आफ्नो सो’को पहिलो दर्शक हुन्। कुनै पनि सो उनी हेर्न छुटाउन्नन्। भन्छिन्– पवनकली ठाडो प्रश्न गर्छिन्, लप्पनछप्पन र घुमाएर सोध्दिनन्। उनमा आत्मविश्वास छ। तर, उनलाई सम्बन्धित विषयमा सम्पूर्ण ज्ञान हँुदैन। माम्पी घोष २०४० सालमा जन्मेकी हुन् झापाको भद्रपुरमा। उनी हरिदास र मानु घोषकी छोरी हुन्। माम्पीका दुई बहिनी र एक भाइ छन्– मीनु, रीना र उत्तम। उनीहरु पढ्दैछन् अहिले। उनका बुबाको भद्रपुरमा व्यापार छ। उनको बाल्यकाल अरु सामान्य बच्चाको जस्तो थियो। खेलेर घुमेर र पढेर नै बित्यो। आफू पनि पढ्ने र अरुलाई पनि पढाउने।
त्यसो त उनले घरका सानातिना काम गरिन्। कोठा सफा गर्ने, बगैंचामा फूल लगाउने आदि। गौतम बुद्ध विद्यालयमा प्राथमिक तहको अध्ययन गरिन् उनले। भद्रपुर हाइस्कुलबाट कक्षा १० उत्तीर्ण गरिन्। झापा आदर्शबाट प्लस टु सकेपछि उनी काठमाडौं आइन्। सानैदेखि बैंकर बन्ने उद्देश्य थियो उनको। त्यसैले वाणिज्यशास्त्र नै पढिन्। तर, पुगिन् मिडियातिर। भन्छिन्– एफएम सुन्दासुन्दै एफएममा बोल्न सक्छुजस्तो लाग्यो। आरजेको तालिम लिएपछि हिट्स एफएम ९१.२ मा काम पाइहालें।
उनको आरजे गुरु हुन् कला सुब्बा। त्यतिबेला कला पनि हिट्स एफएममा नै काम गर्थिन्। एकैचोटि पाँच जना भर्ना गरियो हिट्समा। त्यसमा परेकी थिइन् माम्पी। एफएम यात्रा थाल्दा उनी भरखर बीबीएस प्रथम वर्षमा अध्ययन गरिरहेकी थिइन्। भन्छिन्– ठीकै छ, मास्टर्स गरेपछि बैंकर बनँूला भनेको। तपाईंले देखिरहनुभएको छ, नियतिले कता कता लगिरहेको छ।
हिट्स एफएममा साढे दुई वर्ष काम गरिन् उनले। हप्तामा पाँचछवटा कार्यक्रम चलाउँथिन्– हाइ भोल्टेज, कुल टाइम, धुमधमाका र पत्रलहर आदि। भन्छिन्– मज्जाले चलाइयो, धेरै दिन चलाइयो, माया पाएर चलाइयो। सबैजसो कार्यक्रम स्पोन्सर हुनु नै राम्रो थियो भन्ने प्रमाण हो। साथै चिठी, इमेल अनि फोनबाट पनि मैले त्यो थाहा पाउँथे।
उनले नेपाल टेलिभिजनमा पनि फाट्टफुट्ट काम गरिन्। तिम्रो सुर मेरो गीतमा एक वर्ष जति काम गरेपछि उनले हिट्स एफएम छाडिन्। भन्छिन्– हामी १५/२० जनाले सामूहिक राजीनामा दिएर छाडेका हौं। हाम्रो लडाइँ म्यानेजमेन्टसित थियो। हिट्स एफएम छाडेपछि रेडियो नेपालमा काम गरिन् उनले। खुला प्रतिस्पर्धाबाट ११ जनामा छानिएकी थिइन्। त्यहाँ उनले मनोरञ्जनात्मक कार्यक्रम चलाइन् तीन वर्ष। गत साउनदेखि छाडिदिइन्।
रेडियो नेपालमा काम गर्दागर्दै उनी पुगिन् कान्तिपुर टेलिभिजन। न्युज एंकर बन्ने ठूलो रहरले उनले भूषण दाहाललाई भेटिन्। भन्छिन्– भूषण दाहालले अरु कुरा नसुनी यतिखेर हाम्रो टीभीलाई पवनकली चाहिरहेको छ। यदि पवनकलीमा ट्राइ गर्न सक्नुहुन्छ भने भोलिदेखि ज्वाइन गर्नुस् भन्नुभयो। मलाई अलि अलि डर लागिरहेको थियो। तर हुन्छ गर्छु भनें। कान्तिपुर टेलिभिजनकै समाचार प्रमुख तीर्थ कोइराला पनि पवनकली कार्यक्रमको प्रशंसक रहेछन्।
नभन्दै दर्शकले नयाँ पवनकलीलाई स्वीकार गरे। पवनकली सोको पहिलो पाहुना थिए कान्तिपुर टिभीकै कलाकार घरबेटी बा। तर, सुटिङका हिसाबले पहिलो थिए गायक धीरज राई। अहिलेसम्म उनले दर्जनौं व्यक्तित्वलाई कार्यक्रममा ल्याएकी छन्। भन्छिन्– मेरा लागि सबै पाहुना एकै हुन्– प्रचण्ड र कृष्णप्रसाद सिटौला हुन् कि ऋषि धमला। म सबैलाई उत्तिकै महत्व दिन्छु। तर, मेरो सो’मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित गुड गर्ने धोको छ। त्यसो त उनले अनौपचारिक रुपमा कोइरालालाई भेटिसकेकी छिन् तर डाकिसकेकी भने छैनन्।
अर्को उनलाई पवनकली सोमा ल्याउन मन लागेको मान्छे चाहिं कृष्णप्रसाद भट्टराई रहेछन्। माओवादी अध्यक्ष प्रचण्डसित उनले कुरा गरिसकेकी छन्। भन्छिन्– पूर्व राजा ज्ञानेन्द्रसित कुरा गर्ने सोचेकी छैन। गिरिजाप्रसाद र कृष्णप्रसादचाहिं हाम्रो बराबरीका मान्छे भएरमात्र अन्तर्मनदेखि नै इच्छा गरेकी हँु।
सरल र मिलनसार माम्पीको जीवनको एउटै लक्ष्य छ– सबैखाले चुनौती पार गर्दै सफल हुने र सबैलाई खुसी राख्ने। पढेअनुसार बैंकमा काम गर्ने ठूलो इच्छा पनि छ उनको। यसको सुरुवात नेपालका बैंकबाट गर्न चाहन्छिन्। र, त्यो ठूलो बैंक पनि हुन सक्छ सानो बैंक पनि। तर, सानोलाई राम्रो बैंक बनाउने इच्छा पनि छ। उनलाई मन पर्ने नेता हुन् गिरिजाप्रसाद कोइराला र मन पर्ने अभिनेता राजेश हमाल। उनको प्रिय नायिका गौरी मल्ल र करिश्मा मानन्धर। खानामा नयाँ नयाँ स्वाद मन पर्छ। मिठो पकाउन र खान पनि मन पर्छ। उनलाई साडीचोलो मन पर्छ लगाउन। उनले अहिलेसम्म अल्कोहल खाएकी छैनन्। उनलाई चुरोट खाएको त पटक्कै मन पर्दैन। उनको मनमा भगवान् छ। दिनहँु पुजा गर्छिन्। भन्छिन्– मान्छे आफैं जनावर भइसकेको छ, के जनावर मन पराउने? घरमा उनले जनावर पालेकी छैनन्।
शिष्ट र शालीन पवनकली अहिले बानेश्वरमा बस्छिन्। सम्पत्तिको नाममा उनीसित छ दर्शकको मायामात्र। उनलाई मनपर्ने ठाउँ पोखरा हो। हिमाली ठाउँ जोमसोम जाने मन छ। उनलाई युरोप घुम्न पनि मन छ। उनको जीवनका सानो कुराले दुःखी हुन्छिन् र सानो कुराले खुसी हुन्छिन्। उनी ६ बजे उठ्छिन्। दिनभरि अफिसमा व्यस्त हुन्छिन्। राति नौ बजेतिर फर्कन्छिन्। पवनकली सो’का साथै उनी कान्तिपुर आजमा पनि काम गरिरहेकी छिन्। दिनभरि रिपोर्टिङमा जान्छिन्। उनी फिल्म हेर्न जान भ्याउँदिनन्।
Topics: Nepali News |
One comment | Add One
-
santosh - 09/3/2008 at 3:57 am
all the best for mampi. rajesh hamal na bhaera k bho ta? ma chhu ni! ha ha ha ha ha

