मन्त्रालयको जिम्मेबारी बाँडफाँडमा दलहरु सहमत
By admin | August 21, 2008
५ भदौ, काठमाण्डौं । मन्त्रालयको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको सत्ता साझेदार दलहरु मन्त्रालयको जिम्मेबारी बाँडफाँटमा सहमत भएपछि मन्त्रीमण्डलमा पठाउने नाँउ छान्न ब्यस्त भएका छन ।
केही मन्त्रालयहरुमा दाबी जुधेपछि प्रधानमन्त्री निर्वाचित भएको सातौ दिनमा सत्ता साझेदार दलहरु माओबादी, एमाले र मधेसी जनअधिकार फोरम मन्त्रालयको जिम्मेवारी बाँडफाँटमा आज समहमतिमा पुगेका हुन । यसअघिनै तीन दलवीच माओबादीलाई प्रधानमन्त्री सहित नौ,एमालेलाई गृहमन्त्रालय सहित ६ र फोरमलाई सुचना तथा संचार मन्त्रालय सहित ४ मन्त्रालय दिनेमा दलहरु सहमत भएका थिए ।
आज माओबादीसँग भएको छलफलहरुपछि एमालेले गृह सहित स्थानिय बिकास, जलश्रोत, बन तथा भु- संरक्षण, उद्योग र युवा तथा खेलकुद मन्त्रालयमा सहमति जनाएको हो । एमाले महासचिव झलनाथ खनालले मन्त्री मण्डलको जिम्मेवारी बाँडफाँटमा अब कुनै बिवाद नरहेको बताउनुभयो ।
त्यसैगरी फोरमले परराष्ट्र, सुचना तथा संचार, आपुर्ती र कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । तर फोरम नेतृत्वले मन्त्री मण्डलको अन्तिम टुंगो तीन दलको बैठकमा मात्र लाग्ने बताएको छ ।
यसअघि माओबादीसँगको बैठकपछि एमालेले पाउने छ मन्त्रालयमा महिला तथा बालबालिका मन्त्रालय लिने सहमति भएको बताईएपनि एमालेका एक नेताले महिला मन्त्रालयमा फोरमले दावी नछाडेपछि नयाँ गठन हुने युवा मन्त्रालय एमालेले लिने भएको जानकारी दिएका छन ।
माओबादीले रक्षा, अर्थ, शान्ति तथा पुनर्निर्माण सहित नौ मन्त्रालय पाउने यसअघिनै सहमति भईसकेको छ । तर श्रोतहरुले उपप्रधानमन्त्रीको टुंगो लागिनसकेको बताएका छन । यसअघि स्थानिय बिकासमा माओबादीले र जलश्रोतमा फोरमले दावी गरेपछि मन्त्रीमण्डलको बिस्तार रोकिएको थियो ।
मन्त्रालयको भागबण्डा मिले लगत्तै दलहरु मन्त्री मण्डलमा सहभागि हुने नाउँ छान्न ब्यस्त छन । माओबादीले मन्त्री मण्डलमा पठाउने नाँउ छान्न आन्तरिक छलफल गरिरहेको छ भने एमालेको आज बस्ने भनिएको स्थायि समितिको बैठक भोलि बिहान ८ बजे मात्र बस्ने भएको एमाले नेता इश्वर पोखरेलले जानकारी दिनुभयो ।
एमालेसँगको छलफलपछि प्रधानमन्त्री एवं माओबादी अध्यक्ष प्रचण्डले आजै साँझसम्म सानो आकारको भएपनि मन्त्री मण्डल गठन हुने जानकारी दिनुभएको छ । तर मन्त्री मण्डलमा सहभागि हुने नाँउ छान्न आजै बस्ने भनिएको एमाले स्थायि समितिको बैठक भोलिमात्रै बस्ने भनिएकोले मन्त्रीमण्डलको बिस्तार थप अनिश्चित बनेको छ ।
दलहरुको छुट्टा-छुट्टै बैठकपछि तीन दलको बैठक आजै साँझसम्म बस्ने नेताहरुले बताएका छन ।
tags: forum Maoist Nepal Sarkar Sarkar UMLTopics: Nepali News |

