तराई आर्मी नामक भूमिगत सशस्त्र समूहका केन्द्रीय अध्यक्ष मिस्टर जोनका नामले चिनिने कौशलकुमार सहनी रौतहटमा शनिबार बिहान प्रहरी कारबाहीमा मारिएका छन् । काठमाडौ बम काण्डका मुख्य योजनाकारका रुपमा प्रहरीले उनको ब्यापक खोजी गरिरहेको थियो ।
गत वर्ष भदौ १६ गते राजधानीका छुट्टाछुट्टै स्थानमा तराई आर्मीले गराएको विष्फोटनमा तीन जनाको मृत्यु भएको थियो भने तीस जनाभन्दा बढी घाइते भएका थिए । काठमाडौ बमकाण्डका मुख्य योजनाकारका रुपमा प्रहरीले उनको सर्वाधिक खोजी गरिरहेको थियो ।
शनिबार बिहान ३.३० बजेतिर रौतहटको रघुनाथपुरस्थित घरमा प्रहरीले गरेको कारबाहीमा मिस्टर जोन र उनका अंगरक्षक महन्थ सहनी मारिएका हुन् ।
प्रहरीले उनीहरुका साथबाट दुई वटा पेस्तोल र ९ थान गोली बरामद गरेको छ। मुलुकका विभिन्न भागमा भएका विष्फोटनका जिम्मा लिदै आएका जोनका कार्यकर्ताले पछिल्लो पटक बिहीबार एक सर्वसाधारणको गोली हानी घाइते बनाएपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो ।