प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सैनिक मुख्यालय पुगेका छन् । २७ भदौमा भद्रकालीस्थित सैनिक मुख्यालमा पुगेका उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललगायत सेनाका उच्च अधिकारीहरुसंग नेपाली सेनाको पछिल्लो भूमिका, सुरक्षा अवस्थाबारे जानकारी लिएको सैनिक स्रोतले बताएको छ ।
सैनिक मुख्यालयमा भव्य स्वागतपछि उनले सैनिक अधिकृतसंग परामर्श गरेका थिए । सेनालाई लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुसार अगाडि बढ्न निर्देशन दिदै राष्ट्रियताका पक्षमा सेनाले खेलेको भूमिकाको उच्च प्रशंशा गरेका थिए । प्रधानसेनापति कटवालले सेना सरकारको निर्देशनअनुसार चल्दै आएको र भविष्यमा पनि चल्ने स्पष्ट पारेका थिए । उनले राष्ट्रियता, भौगोलिक अखण्डतामा कसैसंग सम्झौता नगर्ने बताएको सैनिक स्रोतले बतायो ।
सरकारले ६ महिनाभित्र सेना समायोजन गर्ने लक्ष्य लिएको भन्दै प्रचण्डले त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने दृढता व्यक्त गरेको बुझिएको छ ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा तात्कालिन शाही नेपाली सेनासंग भिडन्त गरेको जनमुक्ति सेनाका पूर्व सर्वोच्च कमाण्डर सरकारको नेतृत्वमा पुगेपछि पहिलोपटक सैनिक मुख्यालमा पुगेका हुन् ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर प्रहरी अधिकृतहरुसंग सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । उनले प्रहरी महानीरिक्षक ओमविक्रम राणासंग सुरक्षा सुदृढ गर्न निर्देशन दिएका थिए । राणाले शान्तिसुरक्षा मजबुत बन्दै गएको बताएका थिए । उनले प्रहरी अधिकृतहरुको कार्यवधि थप गर्नेबारे पनि जानकारी गराएका थिए ।