दमौली, ३१ भदौ । तनहुँ जिल्लाको आँबुखैरेनी गाविस-६ स्थित मर्स्याङ्दी जलविद्युत परियोजनाबाट विगतको तुलनामा हाल बीस मेघावाट विद्युत कम उत्पादन भइरहेको छ ।
उक्त परियोजनामा रहेका तीन वटा युनिटमध्ये युनिट नंं.३ बन्द गरी मर्मतकार्य थालिएका कारण विद्युत उत्पादन कम भएको मर्स्याङ्दी विद्युत गृह महाशाखाका प्रबन्धक विन्दुप्रकाश जोशीले बताउनुभयो ।
युनिट नं.३ को पूरै पानीको लिङ्केज बढी भई पूरा लोड दिन नसकेपछि विस्तृत मर्मत थालिएको जानकारी उहाँले दिनुभयो ।
यसअघि उक्त परियोजनामा रहेका युनिट नंं १, २ र ३ बाट २३/२३ मेघावाट विद्युत उत्पादन हुँदैआएको थियो ।
गत छ/सात वर्षेखि ती युनिट मर्मत नगरिएको पनि सो महाशाखाले जनाएको छ । आगामी असोज १९ गतेसम्ममा मर्मतकार्य सकिने बताइएको छ ।
उक्त विद्युत गृहबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फ भरतपुर र स्युचाटार सवस्टेशनमार्फ राष्ट्रिय लाइनमा प्रसारण भइरहेको छ ।
युनिट नं.१ गत वर्ष मर्मत गरिएको र युनिट नं.२ आगामी फागुनमा मर्मत गरिने पनि सो महाशाखाले जनाएको छ ।