लगानीकर्ताहरूबीचको झगडाका कारण घिटीघिटी अवस्थामा बाँचिरहेको नेपालको पहिलो समाचार च्यानल सगरमाथा टेलिभिजनमा पुनः भागदौड मच्चिएको छ। प्रमुख लगानीकर्ताहरू निर्मल गुरुङ र अनिल जोशीबीच स्टाफहरूको विषयमा झगडा भएपछि तिहारको मुखमा पत्रकार कर्मचारीले तलबसमेत नपाउने भएका छन्।
सगरमाथामा सिर्जना भएको पछिल्लो लफडामा एकजना सुन्दरी पनि तानिएकी छिन्। पटक–पटक स्थगित भइसकेको मिस नेपाल, २०६५ की प्रतियोगीसमेत रहेकी एलिजा गिरी प्रकरण कोट्याउँदा सगरमाथाका समाचार प्रमुख पुष्प अधिकारीले समेत जागिरबाट हात धुनुपरेको चर्चा पत्रकारहरूबीच चलेको छ। निर्मल गुरुङ र अनिल जोशीबीच करिब तीन महिनाअघि कृत्रिम मिलापत्र भएपछि निर्मलले पुष्प अधिकारीलाई समाचार प्रमुखमा नियुक्त गरेका थिए भने अनिल जोशी निकट रहेका तत्कालीन कार्यवाहक समाचार संयोजक चिरञ्जीवी देवकोटालाई एंकरमा मात्र सीमित गरिएको थियो। अनिलले नियुक्त गरेकी सुन्दरी एलिजा गिरीलाई निर्मल गुरुङ आएपछि हटाइएको थियो। अनिलको आडमा सगरमाथाका पत्रकारहरूलाई समेत हप्काउने सामर्थ्य राख्ने एलिजालाई समाचार संकलन र एंकरिङको सामान्य ज्ञान नभए पनि उनले थर्काएर जागिर खाँदै आएको पत्रकारहरू बताउँछन्। उनीसँग जोडेर केही दिनअघि स्टाफ मिटिङमा समाचार प्रमुख पुष्प अधिकारीले केही कुरा उठाएका थिए, तर रहस्यात्मक रूपमा उनी सगरमाथा नै छाडेर हिँड्नु तथा त्यसको लगत्तै निर्मल र अनिलबीच झगडा बल्भि्कनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बेलाबेलामा सगरमाथामा झुल्किरहने एलिजा अब पुनः फर्किने चर्चा पनि सगरमाथामा चलेको छ।
मालिकहरूको झगडा चर्किएपछि हालैमात्र इमेज च्यानल छाडेर सगरमाथामा उत्साहसाथ गएका पत्रकारहरू संकेत कोइराला, सुरज आचार्य र प्रकाश गिरी अन्योलमा परेका छन्। निर्मल गुरुङका अत्यन्त विश्वासपत्र प्रमोद सेढार्इं अनिल जोशीसँग झगडा गरी बिदामा बसेका छन् भने अन्य पत्रकारहरू पनि अन्योलग्रस्त बनेका छन्। सगरमाथाका पत्रकार कर्मचारीको तलब निर्मलले व्यहोर्दै आएको र उनले अनिलसँगको मुद्दा टुंगो नलगाई तलब दिन्न भन्न थालेपछि उनीहरू चिन्तामा परेका छन्। कान्तिपुरमा राजीनामाको लहर उता, कान्तिपुरबाट राजीनामा दिने पत्रकारहरूको संख्या थपिएको छ। पछिल्लोपटक सुबोध गौतम, भोजराज भाट, माधव ढुंगेल, लेखनाथ पाण्डे, अमृत भादगाउँलेलगायतले राजीनामा दिएका छन्। यसअघि नै बलराम बानियाँ, उजिर मगर, घनश्याम ओझा, सुदीप श्रेष्ठ, गिरिश गिरी, फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, विकास कार्कीहरूले राजीनामा दिइसकेका छन्। राजीनामा दिएकामध्ये उजिर मगर र सुबोध गौतमबाहेक अधिकांशले नारायण वाग्लेले नेतृत्व गर्ने दैनिकीमा काम गर्ने भएका छन्। उता, कान्तिपुरबाट ७० करोड रूपैयाँ बोकेर निस्किएको ज्ञवाली परिवारले नागरिक राष्ट्रिय दैनिक नेपालीमा र अंग्रेजीमा न्युजफ्रन्ट दैनिक निकाल्ने भएको छ। नेपाली र अंग्रेजी दुवै पत्रिकाको सम्प्ाादक युवराज घिमिरेलाई बनाइने भएको छ। तर घिमिरेले भने आफू समयलाई पनि निरन्तरता दिने पक्षमा रहेको र यसका लागि दुवै पक्षको व्यवस्थापनसँग कुराकानी भइरहेको बताएका छन्।
हिमाल मिडियाको नाटक उता, ओभर स्टाफिङ भयो भन्दै श्रमजीवी पत्रकार ऐन र श्रम ऐनविपरीत कर्मचारीहरूलाई अवकाश दिएको हिमाल मिडियाले यसै साताको नेपाली टाइम्समा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। पुराना कर्मचारीहरूलाई ट्रेड युनियन खोलेको अभियोगमा हिमाल मिडियाले अवकाश दिएको थियो। श्रम ऐन लागू गर्नुपरेमा प्रकाशन नै बन्द गर्ने कनकमणि दीक्षित र कुन्द दीक्षितको अडानका अगाडि नेपालका ट्रेड युनियनहरूसमेत झुकेका थिए। उनीहरूले ओभर स्टाफिङका कारण कम्पनी बन्द हुने अवस्थामा पुगेको भनी करिब दुई दर्जन कर्मचारीलाई अवकाश दिएका थिए। तर त्यसको लगत्तै कर्मचारीको आवश्यकता भन्दै विज्ञापन गर्नुले यसअघिको उनीहरूको भनाइ केवल नाटक सिद्ध भएको पीडित कर्मचारीहरू बताउँछन्।